
टान भन्छ: ‘प्रदेश सरकारले केही गरेको छैन, हेलिकप्टर पनि हामी आफैले व्यवस्थापन गरेका छौँ ।’
पोखरा । अन्नपूर्ण आधार शिविर पदमार्गमा हिउँपहिरोमा हराएका ४ कोरियन र ३ नेपाली नागरिकको अत्तोपत्तो छैन । शुक्रबारदेखि हराइरहेका उनीहरुको खोजी भइरहे पनि पत्ता लागेको छैन ।
सोमबार दुईवटा हेलिकोप्टर सो क्षेत्रमा पुगेको थियो । तर त्यहाँ अवतरण गर्ने नमिलेपछि अवलोकन मात्र गरेर फर्किएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल, पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए । उनले भने, ‘सोमबार आर्मी र कोरियन दूतावासले पठाएको हेलिकप्टर त्यहाँ पुगेको थियो तर पछि मौसम बिग्रेकाले केही हुन सकेन ।’
गएको शुक्रबार आएको हिउँपहिरामा हराएका उनीहरूको खोजीमा बाक्लो हिउँ बाधक बनेको छ ।हिमपहिरो गएको क्षेत्रमा ७ फिटसम्मको हिउँ जमेको छ । बेपत्ता हुनेमा कोरियाका ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ, ५३ वर्षीया किम सूक जा, ३८ वर्षीया चोई ह्यो, नेपाली नागरिक सरोज परियार, मीन बहादुर लामा र छिरिङ भोटे छन्।
उनीहरु हिउँमा पुरिएको र हिउँ नपग्लिँदासम्म खोजी गर्न सक्ने अवस्था नरहेको अध्यक्ष भुजेलले बताए । आफ्ना देशका नागरिक हराएपछि कोरियाली पक्ष भने निरन्तर खोजीका लागि लागेको छ । त्यहाँका राष्ट्रपतिले आफै ट्विट गरेर उद्धारका लागि नेपाल सरकारसँग आग्रह गरिे । शनिबार नेपालस्थित कोरियन दूतावासले खोजीका लागि हेलिकोप्टरसमेत पठाएको थियो ।
शनिबार मात्र जोखिम भएको क्षेत्रबाट १३० जनाको उद्दार गरिएको थियो । उनीहरु मध्ये ६४ जनालाई हेलिकोप्टरबाट पोखरा ल्याइएको थियो ।
४ दिनपछि पर्यटन मन्त्रालयको विज्ञप्ती
शुक्रबार बेलुका घटना भएको सार्वजनिक भयो । त्यसपछि टान पश्चिमाञ्चलसहित पर्यटनसम्बद्ध संस्थाको टोली घटनास्थल तर्फ लाग्यो । शनिबार दिनभर खोजी गरियो । तर केही पत्ता लाग्न सकेन । आइतबार टानले घटनाका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलनमा प्रदेश सरकार र पर्यटन मन्त्रालयका तर्फबाट पहल भए/नभएको बारे पत्रकारले प्रश्न सोधे ।
पत्रकारको प्रश्नमा टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जवाफ दिए, ‘अहिलेसम्म सरकारका तर्फबाट केही भएको छैन, हेलिकप्टर पनि हामी आफैले व्यवस्थापन गरेका छौँ ।’ भ्रमण वर्षका बेला भएको घटनामा पनि सरकारले केही प्रयास नगरेको भन्दै उनले दुखेसो पोखे । २० लाख पर्यटक भित्र्याउने लक्ष्य बोकेको सरकारले कुनै चासो नदिएको भन्दै पर्यटन व्यवसायीले आक्रोश व्यक्त गरिरहेका छन् ।
पत्रकार सम्मेलन गरेर ध्यानाकर्षण गराएको भोलिपल्ट घटना भएको चौंथो दिनमा बल्ल प्रदेश सरकारको पर्यटन मन्त्रालयले चासो दिएको छ। ‘हिमपहिरोमा परी हराएका ४ कोरियाली र ३ नेपाली गरी ७ जना पर्यटकहरु सम्पर्कविहिन भएको घटना प्रति हाम्रो ध्यानाकषर्ण भएको छ । उक्त स्थानमा हराएका पर्यटकको बिशेष खोजी कार्य गरिरहेको र उद्धार कार्य यथाशाक्य छिटो गर्न हामी विभिन्न संयन्त्र परिचालन गरिरहेका छौँ ।’ विज्ञप्तीमा भनिएको छ।
साथै हराइरहेका पर्यटक शिघ्र सम्पर्कमा आउने विस्वाश व्यक्त गर्दै खोजीमा कुनै कमि हुन नदिने पनि प्रतिवद्धता व्यक्त गरिएको छ। विज्ञप्तीमा भनिएको छ,’हराएका पर्यटकको खोजी कार्य तथा उद्धार गर्न हामी कुनै कसर बाकीँ नराख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । साथै हराएका मानिसहरु छिट्टै नै हाम्रो सम्पर्कमा आउने विश्वास लिएका छौँ ।’
यस्तो छ मन्त्रालयले जारी गरेको विज्ञप्ती:


