
धादिङ : मंगलबार राति धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ। घरमा बसिरहेको अवस्थामा सानुबहादुर लामा (सान्ता) र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो।
खुकुरी प्रहारबाट शान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन्। घाइते तामाङलाई उपचारका लागि बुधबार बिहान काठमाडौ स्थित ग्रीन सिटी अस्पताल लगिएको छ। तामाङको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ।
मंगलबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा समूहमा आएको टोलीले खुकुरी र ढुंगामुढा प्रहार गरेको शान्ताका आफन्तहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङकाअनुसार दुई समूहकाबीच पहिलेदेखि जारी रहेको आपसी विवादको कारण झडप भएको हुन सक्ने प्रारम्भिक अनुुन्धानले देखाएको छ।
घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा धादिङकै नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
