राष्ट्रियसभा निर्वाचन : गण्डकीमा २ सय २८ जनाले मतदान गरे, मतगणना शुरू

Share:

पोखरा । राष्ट्रियसभा सदस्य चयन गर्न भएको मतदानअन्तर्गत गण्डकी प्रदेशमा २ सय २८ जनाले मतदान गरेका छन् । २ सय ३० मतदाता रहेकोमा २ सय २८ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए । मतदान सकिएसँगै मतगणना शुरू गरिएको छ । राष्ट्रियसभा निर्वाचनमा पालिका र प्रदेश सभा सदस्यले मतदान गर्न पाउने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार आज मतदान सम्पन्न भएको हो । गण्डकी प्रदेशमा एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्षले मतदान गर्न पाउने व्यवस्थाअनुसार आज मतदान गरिएको हो ।

गण्डकी प्रदेशमा स्थानीय तहका प्रमुख/उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्ष गरी १ सय ७० जना छन् । प्रदेश सभामा समानुपातिकसहित कूल ६० सदस्य छन् । यसरी यहाँ सबै गरेर २ सय ३० जना हुन्छन् । गण्डकी प्रदेशको मतदान स्थल जिल्ला निर्वाचन कार्यालय कास्की तोकिएको थियो । मतगणना १ घण्टामा सकिने प्रमुख सवेदीले जानकारी दिए ।

नेकपाको जित पक्का

मतदान भएपनि गण्डकी प्रदेशमा सत्तारूढ नेकपाको जित पक्का छ । गण्डकी प्रदेश सभामा सत्तारूढ नेकपाका ४० जना सदस्य छन् । यस्तै प्रदेशका स्थानीय तहमा ८३ गरी १ सय २३ मतदाता छन् । काँग्रेसको प्रदेशसभामा १५ र स्थानीय तहमा ८१ गरी ९६ जना मतदाता छन् ।

एक जना उम्मेदवार उठाएको राष्ट्रिय जनमोर्चाको प्रदेशसभा र स्थानीय तहमा ३/३ गरी ६ जना मतदाता छन् । यस्तै प्रदेश सभामा समाजवादी पार्टीका दुई जना, स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई मतदाता छन् ।

निर्वाचनमा ३ दलका ५ जना उम्मेदवार छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने, कांग्रेसबाट सूर्यप्रसाद रेग्मी र विमला गौचन छन् । सत्तारूढ र प्रतिपक्षी दलसँगै राजमोले पनि एक जनालाई उठाएको थियो ।

गण्डकी प्रदेशमा अन्य र महिला सदस्य गरी २ पद खाली हुँदैछ । गण्डकीबाट राष्ट्रिय सभामा अन्य कोटाका सुरेन्द्रराज पाण्डे र महिला कोटाकी बिन्दादेवी आले (राना) को कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ ।

नोट-२ सय २८ हुनुपर्नेमा यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ ।

या पनि :

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा ३ दलका ५ जनाको उम्मेदवारी

राष्ट्रियसभाको निर्वाचन माघ ९ गते

कमेन्ट गर्नुहोस्
Share: