
पोखरा। आईसीसी विश्व क्रिकेट लिग-२ खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा शुक्रबार नेपाल क्रिकेट संघ(क्यान) ले १४ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा तिव्र गतिका बलर कमल सिंह ऐरी र देब्रे हाते स्पिनर सुशन भारीले टोलीमा पहिलो पटक स्थान बनाएका छन्।
नेपाली टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेसावाकर र ललित राजबंशी रहेका छन्। वैकल्पिक खेलाडीमा पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा र किशाेर महतो रहेका छन् ।
नेपालसंगको सिरिजका लागि ओमान र अमेरिकाले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिसकेका छन् । ओमानले बुधबार राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो। जिशान माक्सुदको कप्तानीमा ओमानले सिरिज खेल्ने टिमको घोषणा गरेको हो । ओमानको टिममा कप्तान माक्सुदसहित अकिब, जातिन्दर सिंह, खवर अली, सानुथ इब्राहिम, सुरज कुमार, मुहमद नासिम, सन्दीप गौड,मुहमद नादिम, जय ओडेड्रा, बादल सिंह, अहमेद फायज, कालिमुल्लाह र बिलाल खान रहेका छन् ।
यस्तै अमेरिकाले भने सोमबार नै राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको थियो। सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरेको हो । अमेरिकाको टोलीमा सौरभ नेत्रवलकर (कप्तान), स्टिभ टेलर, करिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, आरोन जोन्स, नास्तुश केन्जोगे, जेवियर मार्शल, मोनन्क पटेल, निसारग पटेल, तिमिल पटेल, क्यामरन स्टीभेन्सन र रस्टी थेरन रहेका छन्। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका तीब्र गतिका बलर अली खान भने अमेरिकाको टोलीमा छैनन् ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म चल्नेछ । विश्वकप लिग २ अन्तर्गत अमेरिका ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ । ओमान भने ८ खेलमा ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । नेपाल भने सिरिज अन्तर्गत पहिलो खेल खेल्न लागेको हो।
