सांसद मनाङेले अध्यक्ष गुरुङमाथि गरेको हातपात बारे बोल्यो एन्फा

Share:

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले गरेको हातपातप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

घटना घटेको चार दिनपछि एन्फाले आज विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । गण्डकी प्रदेश मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको उद्घाटनमा मनाङेले गएको मंगलबार मिलनमाथि हातपात गरेका थिए ।

सांसद मनाङे अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध घटनाको छानबिन भइरहेको छ । सांसद गुरुङले आफूले हातपात गरेको स्वीकार्दै आएका छन् । उनले घटनाको दिन एन्फाका केन्द्रिय अध्यक्ष कर्मा शेर्पालाई आक्रमण गर्न चाहेको बताएका थिए ।

सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आक्रोश पोखेका थिए ।

मनाङे र मिलनबीच भएको के ?

पोखराको भण्डारढिक खेलमैदानमा गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन हुँदै थियो । प्रतियोगितामा कोषाध्यक्षको जिम्मेवारी मिलन गुरुङलाई दिइएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही समयपछि उद्घाटन गर्दै थिए । विशेष अतिथिका रुपमा प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) आइसकेका थिए । मुख्यमन्त्री पुगिसकेका थिएनन् ।

उद्घाटनको समय केही ढिला भएको थियो । आसन ग्रहणका लागि मनाङेलाई बोलाइयो। मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्काभेट भयो । सांसद मनाङे फायर थिए । मनाङबाट सहभागी डाँफे युवा क्लबको व्यवस्थापनका विषयमा मनाङेलाई आयोजकप्रति चित्त बुझिरहेको थिएन । एन्फाका केन्द्रिय अध्यक्ष नै कुट्छु भनेर मुर्मुरिरहेको बेलामा जिल्ला अध्यक्ष मिलनलाई देख्नासाथ उनले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको ? भनेर प्रश्न गरे ।

जवाफमा एन्फा अध्यक्ष मिलनले अभ्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको भने । खै त खेलाडीले अभ्यास गर्न पाएको ? नटेर्ने ? ढाँट्ने ? भन्दै दुई जनाबीच केहिबेर भनाभन भयो । करिब ५ मिनेट वादविवादपछि मनाङेले मिलनको छातीमा हात पु¥याए र धकेले । मनाङेले हात हालेपछि मिलन आफ्नो ज्यान बंग्याए । मिलनले छल्दा छल्दै मनाङेले मिलनको गोडामा हाने । भनेजस्तो नलागेपछि मनाङेले गालामै हाने । उनको प्रहार घाँटीतिर लाग्यो । सांसद गुरुङलाई प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा गुनासो थियो ।

कमेन्ट गर्नुहोस्
Share: