
पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ । अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पाएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शुक्रबार मनाङेलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएका हुन्। कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले सांसद मनाङेले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
यो पनि – दीपक मनाङेलाई दुई दिन हिरासतमा राख्न प्रशासनको अनुमति
अध्यक्ष गुरुङको उजुरी परेपछि प्रहरीले बिहिबार सांसद गुरुङलाई लेकसाइडबाट नियन्त्रणमा लिएको थियो । सांसद गुरुङले आफूले हातपात गरेको स्वीकार्दै आएका छन् । गण्डकी प्रदेश मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको उद्घाटनमा गण्डकी प्रदेशका सांसद मनाङेले हातपात गरेका थिए ।
उनले घटनाको दिन एन्फाका केन्द्रिय अध्यक्ष कर्मा शेर्पालाई आक्रमण गर्न चाहेको बताएका थिए । सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आक्रोश पोखेका थिए ।
यो पनि – ठगी आरोपमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ
सांसद मनाङेले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष गुरुङ पोखराको गैह्रापाटनबाट शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।
ओम गौरा जोस्टेल प्रालिका प्रोपाइटर हरि भक्त आचार्यको उजुरीमा उनलाई नियन्त्रणमा लिइएको हो । बैंकिङ कसुर तथा ठगीको आरोपमा परेको उजुरी बारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दान बहादुर कार्कीले बिगखबरलाई जानकारी दिए ।
यो पनि – पोखरामा कुटाकुटः रामकृष्णलाई मिलनले, मिलनलाई दीपक मनाङेले कुटे (भिडियोसहित)
‘जुन चिजलाई मैले लडेको थिएँ सक्सेस भयो’
सांसद मनाङेले एन्फा अध्यक्ष गुरूङ पक्राउ परेपछि आफू सफल भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार म्याद थप भएपछि पत्रकारहरूसँग छोटो कुराकानी गर्दै उनले सो करा बताएका हुन् । उनले भने, ‘त्यो ठगलाई बल्ल समात्यो, जुन चिजलाई मैले लडेको थिएँ सक्सेस त भयो नि कमसेकम ।’
कसैले पनि मुद्धा हाल्न नसकेको भन्दै उनले अध्यक्ष गुरूङलाई ‘डन’ को संज्ञा दिए । सांसद गुरूङले भने, ‘१० वर्ष भएछ यसले पोखरामा एकलौटी ठग्दै बसेको, कसैले पनि मुद्धा हाल्न नसक्ने यो डन नै रहेछ, खतरनाक रहेछ ।’
भिडियो सौजन्य – सुदर्शन रञ्जित
मनाङे र मिलनबीच भएको के ?
पोखराको भण्डारढिक खेलमैदानमा गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन हुँदै थियो । प्रतियोगितामा कोषाध्यक्षको जिम्मेवारी मिलन गुरुङलाई दिइएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही समयपछि उद्घाटन गर्दै थिए । विशेष अतिथिका रुपमा प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) आइसकेका थिए । मुख्यमन्त्री पुगिसकेका थिएनन् ।
उद्घाटनको समय केही ढिला भएको थियो । आसनग्रहणका लागि मनाङेलाई बोलाइयो। मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्काभेट भयो । सांसद मनाङे फायर थिए । मनाङबाट सहभागी डाँफे युवा क्लबको व्यवस्थापनका विषयमा मनाङेलाई आयोजकप्रति चित्त बुझिरहेको थिएन । एन्फाका केन्द्रिय अध्यक्ष नै कुट्छु भनेर मुर्मुरिरहेको बेलामा जिल्ला अध्यक्ष मिलनलाई देख्नासाथ उनले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको ? भनेर प्रश्न गरे ।
जवाफमा एन्फा अध्यक्ष मिलनले अभ्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको भने । खै त खेलाडीले अभ्यास गर्न पाएको ? नटेर्ने ? ढाँट्ने ? भन्दै दुई जनाबीच केहिबेर भनाभन भयो । करिब ५ मिनेट वादविवादपछि मनाङेले मिलनको छातीमा हात पु¥याए र धकेले । मनाङेले हात हालेपछि मिलन आफ्नो ज्यान बंग्याए । मिलनले छल्दा छल्दै मनाङेले मिलनको गोडामा हाने । भनेजस्तो नलागेपछि मनाङेले गालामै हाने । उनको प्रहार घाँटीतिर लाग्यो । सांसद गुरुङलाई प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा गुनासो थियो ।
