
पोखरा । पोखरामा ११ औं संस्करणको प्रदेशस्तरीय क्यान इन्फोटेक–२०२० हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा आउँदो फागुन ११ गतेदेखि १५ गेतसम्म सो मेला हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
सूचना प्रविधिको क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि बारे जानकारी गराउने उद्देश्यसहित आयोजित मेलाको तयारी तीव्र पारिएको क्यान कास्कीका अध्यक्ष रूक्मागत भण्डारीले जानकारी दिए । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलामा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ ।
यस्तै मेलामा नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिने अध्यक्ष भण्डारीले जानकारी दिए । मेलामा आइ.टी.सी सम्बन्धि एक सय स्टल रहने आयोजकले जनाएको छ । यसबाहेक मेलामा प्रदेशस्तरीय आइटी क्विज प्रतियोगिता, टाइपिङ प्रतियोगिता, आइ.सी.टी स्पिच प्रतियोगिता, रोबर्ट प्रतियोगितालगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।
मेलाको ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । ५ दिने मेलाबाट ३५ लाख आम्दानी र ३० लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष भण्डारीले जनाए । मेला सम्पन्न गर्न अध्यक्ष भण्डारीको संयोजकत्वमा विभिन्न ३५ वटा उपसमिति गठन गरिएको छ ।


