
काठमाण्डौं । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ७० पुगेको छ । योसँगै कोरोना भाइरसबाट एक हजार सात सय नयाँ व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ । विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय नाघिसकेको छ । त्यस्तै १२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको आशङ्का गरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमणबारे पुरै विश्व सतर्क हुनुपर्ने बताएको छ। डब्ल्यूएचओले कोरोनाको संक्रमण फैलिन नदिन सबै देश सतर्क हुनुपर्ने र मिलेर काम गर्नुपर्नेमा जोड दिएको हो।
डब्ल्यूएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भन्ने निष्कर्ष निकाल्न आज बैठक बोलाएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड, फ्रान्ससँगै विश्वका १६ देशमा पुगिसकेको छ ।
