श्रीपञ्चमी : विद्यादेवी सरस्वतीको पूजा गरेर मनाइँदै

Share:

पोखरा। आज माघ शुक्लपञ्चमी । विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाइँदै आएको छ ।

वासन्त पञ्चमीका नामले समेत चिनिने पर्वमा विद्याकी देवी सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ। देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ। धेरैजसो विद्यालय र क्याम्पसहरुमा पनि आज सरस्वती पूजा कार्यक्रम राखिएको छ ।
यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ ।

आजकै दिन हनुमानढोका दरबारको नासल चोकमा राष्ट्रपति र उपराष्ट्रपतिले वसन्त श्रवण गर्ने कार्यक्रम छ । विगतमा राष्ट्राध्यक्षको हैसियतमा राजाहरुले वसन्त श्रवण गर्ने चलन रहे पनि गणतन्त्र स्थापनापछि राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने थालिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: