लोकतन्त्रमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ: सभापति देउवा

Share:

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गरेका छन् ।

शहीद दिवसका अवसरमा एक सन्देश जारी गर्दै सभापति देउवाले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त एवं समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।

लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गर्दै सभापति देउवाले यसबाट नै विद्यमान विसङ्गतिको अन्त्य हुने र राष्ट्रले दु्रततररुपमा विकास र निर्माणका कार्य गर्ने बताए ।

‘लोकतन्त्रको एउटा सवल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए’, विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: