
मुस्ताङ । हिउँले सेताम्मे पहाड । चिसो मौसम । भिरालो ठाउँबाट फुरुङ्ग हुँदै चिप्लेटी खेलिरहेका मान्छे । आइतबार दिउँसो मुस्ताङको माथिल्लो भाग मुक्तिनाथ क्षेत्रमा यस्तै दृश्य देखिन्थ्यो । हिउँले सेताम्मे पहाड सधैं देखिने गरेपनि चिप्लेटी खेल्दै रमाइरहेको दृश्य देखिन थालेको दुई वर्ष भयो ।
खेल्नेले मात्र होइन हेर्नेले पनि बेग्लै अनुभूति गर्छन् । नेपाल स्की संघको आयोजनामा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप शनिबारदेखि जारी छ । मुस्ताङलाई स्की हबको रूपमा विकास गर्ने उद्देश्यसहित आयोजित च्याम्पियनसिप सोमबार सकिँदै छ ।
शनिबार र आइतबार गरेर दुई दिने स्की तालिम सकिएको छ । तालिममा झण्डै ४० जनाको सहभागिता थियो । सोमबार स्की प्रतियोगिता हुनेछ । हिउँमा खेलिने साहसिक खेल स्कीका लागि मुस्ताङ उपयुक्त ठाउँ मानिन्छ । नेपालमा स्की प्रतियोगिता संचालन भएको तीन वर्ष भएको छ ।
पहिलोपटक दुई वर्ष अगाडि रसुवाको लाङटाङमा प्रतियोगिता गरिएको थियो । यातायात, होटललगायत स्कीका लागि सबै पूर्वाधार भएकाले संघले गएको वर्षदेखि मुस्ताङलाई प्राथमिकता दिएको छ । अहिले चिसो बढेकाले मुस्ताङमा खासै पर्यटक छैनन् । मुस्ताङका आधा जति स्थानीय चिसो छल्न जिल्ला बाहिर पुगेका छन् ।
तस्बिरमा हेर्नुहोस्::







