
काठमाडौँ । बजारमा कुखुराको मासुको मूल्य अस्वाभाविक रूपमा बढेको छ । एकै पटक मासुमा प्रतिकेजी २ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । केही दिनअघिसम्म प्रतिकेजी दुई सय १० रुपैयाँको हाराहारीमा रहेको कुखुराको मासुको मूल्य अहिले ४ सय ४० रुपैयाँसम्म पुगेको छ ।
राष्ट्रिय कुखुरा व्यवसायी सङ्घले गत हप्ता तोकेको नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा तयारी मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ छ । तर अहिले बजारमा प्रतिकेजी मासु ४ सय रुपैयाँसम्म कारोबार भइरहेको छ । थोक मूल्य ३ सय ५० रुपैयाँ भए पनि कोल्डस्टोर व्यवसायीहरुले खुद्रामा ३ सय ७० देखि ४ सय रुपैयाँसम्म लिइरहेका छन् ।
यता लमजुङको सदरमुकाम बेसीशहरमा ब्रोइलर कुखुराको मासु अभाव हुन थालेपछि प्रतिकेजी ४ सय ४० रुपैयाँसम्म पु¥याइएको छ । चिसोमा कुखुरा उत्पादन कम हुने र ह्याचरी व्यवसायीले पुसमा १० दिनसम्म चल्ला उत्पादन नगरेका कारण अहिले मासुको अभाव भएको नेपाल ह्याचरी उद्योग सङ्घका सदस्य तथा ह्याचरी व्यवसायी विजयलाल देसारले बताएका छन् । बजारमा माग अनुरूपको कुखुरा आपूर्ति हुन नसक्दा मासुको मूल्य वृद्धि भएको व्यवसायीको भनाइ छ ।
गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म चितवनमा ‘चिकेन होलिडे’ अर्थात् अन्डा नष्ट गर्ने अभियान चलाइयो । व्यवसायीहरुले ५० करोड बराबरको चल्ला उत्पादन गर्ने अण्डा नै नष्ट गरे । पछि यो अभियान काठमाडौँमा पनि चलाइयो । कुखुराको मूल्य नबढेपछि नेपाल ह्याचरी सङ्घको नेतृत्वमा जिउँदो चल्ला र अण्डा नष्ट गर्ने काम भयो । व्यवसायीहरुले १५ करोड बराबरको ३० लाख चल्ला र ५० करोड बराबरको अण्डा नष्ट गरेका थिए ।
