
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको विरोधमा भ्रातृ संगठनहरूलाई सडक संघर्षमा उतारेको छ ।
अख्तियारले बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतालाई जोगाउँदै ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेर उपसभापति गच्छदारविरुद्ध मुद्दा दायर गरेको विरोधमा कांग्रेसले माइतीघर मण्डलामा भ्रातृ संगठनलाई सरकारविरद्ध उतारेको हो ।
प्रतिनिधिसभाको बैठक २ दिनका लागि स्थगित
कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि रोकिएको प्रतिनिधिसभाको बैठक २ दिनका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो १ः२० बजेतिर शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसको अवरोध जारी गरेपछि सभामुख अग्नि सापकोटाले आधा घण्टाका लागि स्थगित गरेका थिए ।
सभामुख सापकोटाले दिउँसो २ः१० बजे पुनः बस्ने गरी बैठक स्थगित गरेपनि बैठक शुरु हुन सकेन । संघीय संसद सचिवालयले अब अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जनाएको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा आफ्ना नेता विजयकुमार गच्छदारलाई प्रतिवादी बनाइएको विरोधमा कांग्रेसले सदन अवरोध गर्दै आएको छ ।
गच्छदारलाई प्रतिवादी बनाइएको विरोधमा कांग्रेसले बिहीबार पनि संसद बैठक अवरुद्ध पारेको थियो । बिहीबार कांग्रेसको अवरोधका कारण स्थगित भएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले संसद अवरुद्ध गर्नु रहर नभइ बाध्यताबश संसद अबरुद्ध गर्नुपरेको बताए । भ्रष्टाचारमुक्त समाजको अन्त्य र विधिको शासन स्थापना गर्ने उद्देश्यका साथ कांग्रेस सरकारले नै ऐन ल्याएर अख्तियारको स्थापना गरेको उनले स्मरण गरे । सांसद विश्वकर्माले अख्तियारलाई सरकारको छायाँ बनाइएको आरोप लगाएका छन् ।
गच्छदार स्वतः निलम्बन भएको सूचना प्रकाशन
संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्य विजयकुमार गच्छदार स्वतः निलम्बन भएको सूचना प्रकाशन भएको छ । सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीले सूचना जारी गर्दै अख्तियारको पत्र अनुसार सांसद गच्छदार निलम्बन भएको जानकारी गराएका छन् ।भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम माघ २२ गतेदेखि सांसद गच्छदार स्वतः निलम्बन भएका सूचनामा उल्लेख छ ।
बालुवाटार प्रकरणमा म दोषी छैन – माधव नेपाल
उता बालुवाटार जग्गा काण्डमा दोषी भन्दै आलोचनाको पात्र बनेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफू भ्रष्टाचारी नभएको बताएका छन्। बालुवाटार जग्गा प्रकरणमा दोषी अपराधी कसैले उन्मुक्ति पाउन नहुने भन्दै उनले आफू भ्रष्टाचारी नभएको बताएका हुन्।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै शुक्रबार उनले भने, ‘म अपराधी हैन। दोषी हैन। भ्रष्टाचारी हैन। तर कसैले भ्रष्टाचार गरेको छ भने उसलाई कारबाही हुनुपर्छ।’ उनले आफू प्रधानमन्त्री हुँदा कसैलाई नयाँ मोही बनाउन निर्णय नदिएको बताए।
उनले कोही निर्दोष मान्छे फसेको भए त्यस्तो गर्न नहुने तर दोषीलाई उन्मुक्ति दिन नहुने उल्लेख गरे । उनले पार्टीगत आग्रह र पूर्वाग्रहका आधारमा कसैलाई मुद्दा चलाएजस्तो आफूलाई नलागेको स्पष्ट पारेका छन् ।
