
पोखरा । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–पोखरा उडान शुरु गरेको छ । ८० सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजबाट उडान शुरु गरेको एयरलाइन्सले जानकारी दिएको छ ।
श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ वटा उडान गर्ने र मागअनुसार ५ वटासम्म उडान गर्ने योजना रहको बताए ।पोखरा पर्यटकीय क्षेत्र भएको र पर्यटन वर्ष २०२० लाई लक्षित गरी पोखरा उडान शुरु गरेको उनले बताए ।
उनले केही दिनका लागि काठमाडौंदेखि पोखरासम्मको भाडा २ हजार रुपैयाँ र पोखरादेखि काठमाडौंको भाडा २ हजार ६ सय रुपैयाँ तोकिएको जानकारी दिए । एयरलाइन्सका क्याप्टेन भरतसिंह थापाले ड्यास एट क्यु ४०० जहाज सानो रनवेमा पनि जान सक्ने र तीब्र गतिमा उडन सक्ने बताए ।
श्री एयरलाइन्सले यसअघि भद्रपुर, विराटनगर, राजबिराज, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलमा सेवा दिँदै आएको छ ।यसअघि पोखरामा निजी ठूला वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्स र बुद्ध एयरले उडान भर्दै आएका छन् ।
