फागुनदेखि नारायणीमा पानीजहाज, अनलाइनबाटै टिकट बुकिङ

Share:

चितवन । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । चितवन भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै जहाज निर्माण शुरुआत भएको थियो । क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिए । उनले १० दिनभित्र अनलाइन बुकिङ आह्वान गर्ने जानकारी समेत दिए ।

क्रुजसीपमा ब्रेकफाष्ट, दिवा खाना र रात्रिकालीन खानाका लागि अनलाइन बुकिङ खुला गरिँदैछ । काभ्रेघाटबाट शुरु हुने यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् ।

नेपालमा व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको बताइएको छ । ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा जहाज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि रु १५ करोड हाराहारी खर्च भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: