कांग्रेसले संसद बैठक चल्न दिएन, अर्को बैठक मंगलबार

Share:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक मंगलबार सम्मका लागि सारिएको छ ।

आइतबार झन्डै पौने घन्टा ढिला गरी सुरु भएको बैठकको कारबाही प्रारम्भ हुने बित्तिकै कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि संसदको काम–कारबाही अगाडि बढ्न सकेन ।

बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् काँग्रेस उपसभापति विजय कुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले गत बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायतका विषयमा कांग्रेसले आइतबार तेस्रोपटक बैठक अवरुद्ध गरेको हो । यसअघि माघ २३ र २४ गते सदन अवरुद्ध भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।

अदालतमा गएको विषय उठाएर संसद अवरुद्ध नगर्न सभामुखको आग्रह

कांग्रेस सांसदले तेस्रो दिन पनि बैठक चल्न नदिने अडान लिएपछि सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा गएको विषय उठाएर संसद अवरुद्ध नगर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग आग्रह गरे ।

सभामुख सापकोटाले बैठकलाई जीवन्त राख्न र चलायमान बनाउने सबैको उद्देश्य हुनुपर्ने भन्दै बैठक सञ्चालनमा सहयोग गर्न कांग्रेसलाई आग्रह गरे। संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै सभामुख सापकोटाले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने स्पष्ट पारे ।

कांग्रेस सांसदले उभिएर विरोध जनाइरहँदा कांगेस सांसद दिलेन्द्रप्रसाद बडूले ‘ललिता निवास प्रकरणमा कसलाई भन्दा पनि कसरी मुद्दा अगाडि बढाइएको हो ?’ भन्दै आपत्ति जनाएका थिए ।

प्रतिपक्षी दलका सांसदले अवरोध कायम राख्दै गर्दा सत्तापक्षीय दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीले भने नियमापत्ति गर्दै सदनको कारबाहीलाई अगाडि बढाउन माग गरेकी थिइन् ।

पूर्वउपप्रधान तथा मन्त्री गच्छदारविरुद्ध अख्तियारले ९ करोड बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । कांग्रेसले भने पूर्वाग्रहपूर्ण तरिकाले अख्तियारले आफ्ना नेताविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको भन्दै सदन र सडकमा विरोध जनाइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: