
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइरहेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एक श्रदाञ्जली सभा आयोजना गरी २५ औं जनयुद्ध दिवस मनाएको हो ।
कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुँदा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भए ।
यसअघि ओली पनि जनयुद्ध दिवसको कार्यक्रममा सहभागि हुने र दुबै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको बताइएको थियो । दिवसका विषयमा छलफल गर्न मंगलबार विहान दुइ अध्यक्षबीच भेटवार्ता समेत भएको थियो ।
तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि राज्यसत्ताविरुद्ध थालेको संघर्षको सम्झनामा नेकपाले जनयुद्ध दिवस मनाउने गरेको छ ।
‘माओवादी जनयुद्ध’ नाम दिएको सशस्त्र आन्दोलन २०६३ सालमा विसर्जन भएको थियो । त्यसपछि भएका धेरै राजनीतिक परिवर्तनको केन्द्रभागमा पूर्व माओवादी रहँदै आएको छ ।
यसैबिच २५ औं जनयुद्ध दिवसको अवसरमा दाङको बंगलाचुली गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
