
काठमाडौं । चीनबाट फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट जापानमा पनि एक व्यक्तिको ज्यान गएको छ ।
कोरोना भाइरसबाट सङ्क्रमित एक जना महिलाको ज्यान गएको जापानका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । ती महिला ८० वर्षभन्दा बढी उमेरकी टोकियो सीमा नजिकको भएको बताइएको छ ।
गएको जनावरीमा ती महिला बिरामी परेकी थिइन् तर पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो, उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अर्काे अस्पतालमा स्थान्तरण गरिएको थियो ।
दुई जना ट्याक्सी ड्राइभरमा पनि कोरोनाको सङ्क्रमण देखिएको बताइएको छ, सङ्क्रमितमध्ये एक जना राजधानी टोक्योका हुन् । यी दुई जनाबाट थप अन्य व्यक्तिमा पनि सङ्क्रमण हुन सक्ने आशङ्का बढेको छ ।
केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।
जापान चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको दोस्रो देश बनेको छ । जापानमा अहिलेसम्म दुई सय ५१ वटा कोरोना सङ्क्रमणको घटना सार्वजनिक भएको छ ।
यो सँगै चीनबाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो तेस्रो घटना हो । यसअघि फिलिपिन्स र हङकङमा एक–एक जनाको ज्यान गइसकेको छ ।
यसैबीच कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ८३ पुगेको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हिजो मात्रै हुबेई प्रान्तमा १ सय १६ जनाको मृत्यु भएका छन् । सङ्क्रमितको सङ्ख्या ६० हजारभन्दा बढी छ । चीनबाहिर २४ देशमा चार सय ४७ जनामा सङ्क्रमण देखिएको छ ।
यसरी महामारीको रुपमा फैलिरहेको कोरोना नियन्त्रणमा नआएपछि चीन सरकारले भने हुेबेई प्रान्तका उच्च अधिकारीहरुलाई बर्खास्त नै गरेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको हो ।
भाइरस नियन्त्रण गर्न नसकेको भन्दै चीनले अमेरिकी तथा युरोपेली देशबाट आरोप खेपिरहँदा चीन सरकार पनि कठोर बनेको हो । उक्त क्रममा चीन सरकारले सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तका शीर्ष राजनीतिक नेतृत्वलाई जिम्मेवारी मुक्त बनाएको हो ।
