
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई दुःख दिन दरबार वरिपरिका मान्छे लागेको बताएका छन् । तर पनि राजा र राजसंस्थासँग राप्रपाको दुरी नघट्ने उनले बताए ।
रुपन्देहीको बुटवलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले भने, ‘राप्रपालाई कमजोर बनाउन र दुःख दिन दरबार वरिपरिका मान्छेहरु लागेका छन् । उनीहरुले नकारात्मक सोंच राख्दैमा राजा र राजसंस्थासँग हाम्रो पार्टीको दूरी घट्दैन ।’
राजा कुनै व्यक्ति र दलको मात्रै नहुने भन्दै उनले राजा सबैको साझा हुने बताए । राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा अझै पनि जनताको आस्था र विश्वास रहेको दाबी गर्दै थापाले आउँदो चुनावबाट राप्रपा तेस्रो शक्तिको रुपमा उदाउने उदघोष गरे ।
थापाले आउँदो चुनावलाई लक्षित गरी राप्रपाले महाधिवेशनको मिति सकिनु ९ महिना अगावै महाधिवेशन गर्न थालेको बताए । आउँदो चुनावसम्म देशभर तीन लाख सक्रिय कार्यकर्ता बनाउने लक्ष्यसहित सातै प्रदेशमा संगठन विस्तार अभियान चलाइएको थापाले बताए ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको पनि उनले बताए । तर यसबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जानकारी गराउनुपर्ने थापाको भनाइ छ । ‘एमसीसी नेपालको हितमा छ,’ थापाले भने, ‘तर प्रधानमन्त्रीले संसदमा जनतालाई स्पष्ट जानकारी नगराउँदा प्रश्नहरु उठेका छन्, जानकारी गराउनुपर्छ ।’
