
पोखरा । पोखरामा आउँदो शनिबार १५ औं संस्करणको महाशिवरात्री विश्व सङ्गीत महोत्सव हुने भएको छ ।
फेवा किनारको बाराही खेल मैदानमा सो कार्यक्रम हुन लागेको आयोजक नमस्ते ब्याण्डले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । ब्याण्ड स्थापनाको ३१ औं वर्ष र महाशिवरात्रीको अवसरमा कार्यक्रम गर्न लागिएको ब्याण्डका संयोजक इश्वर गुरुङले जानकारी दिए ।
३० वर्ष अगाडि नेपाली तथा जापानिज समुदायका सदस्यहरु मिलेर स्थापना गरेको यो ब्याण्डले यसअघि १४ वटा संस्करण गरिसकेको छ ।
भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको संगीत महोत्सवमा झण्डै ८० गीत प्रस्तुुत हुने संयोजक गुरुङले बताए । ३ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएको नमस्ते ब्याण्डले हरेक ५/५ वर्षमा महाशिवरात्री संगीत महोत्सव आयोजना गर्दै आएको छ ।
कार्यक्रम दिउँसो १ बजेबाट शुरू हुने छ । सोहि दिन साँझ साढे ५ बजे नमस्ते ब्याण्डको प्रस्तुती र आतिसबाजी गरिने छ । सशस्त्र द्वन्दको कारण बन्द भएको नमस्ते कल्चर स्टुडियो पुनः आफ्नै भवनमा संचालनमा आउन लागेको संयोजक गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराए ।
उनका अनुसार उच्च प्रविधि, उपकरण र दक्ष प्रशिक्षकहरुद्वारा प्रशिक्षण र साङ्गितिक महाविद्यालय तहको उच्च शिक्षाको लागि नमस्ते सांगीतिक प्रतिष्ठान संचालनमा आउने छ । गायन क्षेत्रमा आबद्ध ३ सय बढीलाई सम्मान गरिसकेको आयोजकले यस वर्ष चर्चित तथा वरिष्ठ संगीतकार न्यू बर्जाचार्यलाई सम्मान गर्ने भएको छ ।
साथै कार्यक्रमबाट पोखरा–२२ पुम्दी–भुम्दीमा बनिरहेको ७५ फिट अग्लो शिव मूर्ति निर्माणका लागि दुई लाख २५ हजार सहयोग गरिने संयोजक गुरुङले जानकारी दिए । एक दिने सांगीतिक महोत्सव सम्पन्न गर्न ४५ लाख रूपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
