
पोखरा । पोखराका खाजा पारखीले अब आफूले रोजेको रेष्टुरेन्टको खाजा आफ्नै घरमा पाउने भएका छन् । पोखरा भित्रका करिब ५० रेष्टुरेन्टमा बनेका खाजा पोखरेलीले मोवाइल एपको प्रयोग गरी आधा घण्टाको समयमै घरमै खाजा पाउने भएका हुन् ।
पोखराको न्यूरोडमा सञ्चालनमा आएको फुडरा डेलिभरी प्रालिले यो सेवा दिने भएको हो । प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै पोख्रेलीका लागि यस सेवाको थालनी गरिएको जनाएको छ ।
पोखरेलीले खाजाका साथै पेय पदार्थ र हुक्कासमेत होम डेलभरीको सुविधा पाउने फुडराका सञ्चालक सेसिभ भुर्तेलले जानकारी दिए । यसका लागि मोबाइल फोनमा फुडरा एप डाउनलोड गर्नुपर्नेछ । उनकअनुसार अर्डर गरेको आधा घण्टामै आफूले रोजेको रेष्टुरेन्टको खाजा घरमै आइपुग्ने छ ।
फुडरा डेलिभरीको सेवा बिहान ११ बजेबाट राती १२ बजेसम्म रहने छ । एपमा अनालाईन ट्रयाकिङ सिस्टमको सहयोगले खाजा कहाँसम्म आइपुगेको छ भनेर पनि हेर्न सकिने भुर्तेलले बताए ।
फुडराले करिब २० लाख लगानीमा यस सेवाको थालनी गरेको हो । भावी दिनमा देशका विभिन्न सहरमा आफ्नो सेवा सुरु गर्न लागेको फुडराले अहिले १० जनालाई रोजगारी समेत दिएको छ ।
