
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको एम.डी/एम.एस (स्नाकोत्तर) को प्रवेश परीक्षा विद्यार्थीले बहिष्कार गरेका छन् । परीक्षाका लागि तोकिएको समयभन्दा एक घण्टा ढिलो प्रश्नपत्र दिएको भन्दै झण्डै ५ सय विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन् ।
शनिबार २ बजे परीक्षाका लागि बोलाइएको भएपनि प्रश्नपत्र ३ बजे बाँडिएको परीक्षार्थीले बताएका छन् । १७ सय जना परीक्षार्थी रहेकोमा करिब ५ सय जना विद्यार्थीले परीक्षा बहिष्कार गरेको परीक्षा बहिष्कार गर्ने मध्येका एक हुलास अग्रवालले जानकारी दिए ।
उनले भने, ‘हामीलाई प्रश्नपत्र ढिलो गरेर दिइयो । परीक्षा पारदर्शी हुन्छ जस्तो लागेन त्यसैले हामीले बहिष्कार गरेका हौँ ।’ उनीहरूले यो परीक्षा रद्व गरेर पुनः संचालन गर्नुपर्ने माग गरेका छन् ।
यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने परीक्षा निर्धारित समयभन्दा एक घण्टा ढिला भएको स्वीकार गरेको छ । प्रतिष्ठानका उपकुलपति बुद्धि बहादुर थापाले प्राविधिक कारणले ढिला भएको जनाएका छन् । उनले के कारणले ढिला भएको हो भन्ने खुलाएनन् ।
‘परीक्षा ढिला गरी शुरू भएपनि हामीले परीक्षाका लागि निर्धारित समय दिन्छौँ भनेका थियौँ ।’ उनले भने, ‘केहि विद्यार्थीले बहिष्कार गर्नुभयो।’
