फेवातालमा डुङ्गा डुब्दा हराएका सुमित भेटिएनन्, भोलि बिहानबाट फेरि खोजिने

Share:

पोखरा । पोखराको फेवातालमा सोमबार दिउँसो डुङ्गा डुब्दा बेपत्ता भएका काठमाडौैंका सुमित लुइँटेल दिनभर खोजी गर्दा पनि नभेटिएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो तीन जना सवार डुङ्गा तालमा डुबेको थियो । दुई जनाको तत्काल सकुशल उद्दार गरिएपनि २७ वर्षका सुमित भने दिनभर खोजी गर्दासमेत नभेटिएको वडा प्रहरी कार्यालय, बैदामका डिएसपी यादब ढकालले बिगखबरलाई बताए ।

‘डुङ्गा डुबेको खबर पाएपछि हामी घटनास्थल पुगेका थियौं । दुई जनाको तत्काल सकुशल उद्दार गरियो । एकजना दिनभर खोज्दा पनि भेटिएनन् ।’ यादबले भने ।

पोखरा घुम्न आएका काठमाडौँको कपन बस्ने २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रूपेश अधिकारीको तत्काल सकुशल उद्दार गरिएको थियो।

चार जनाको टोलि पोखरा घुम्न आएको तर तीन जना मात्र डुङ्गा सयरका लागि गएका थिए । एक जना भने डुङ्गामा गएका थिएनन् ।

उनीहरू सोमबार बिहान पोखरा आएको बुझिएको छ ।पोखरा आएलगत्तै तीन जना डुङ्गा शयर गर्न पुगेका थिए ।

लाइफ ज्याकेट प्रयोग नगरी तालमा पुगेको केहि समयमै डुङ्गा पल्टिएको हो । उनीहरु जलारीसँग डुङ्गा लिएर तालमा पुगेको डिएसपी ढकालले बताए ।

‘लाइफ ज्याकेट प्रयोग गरेको पाइएन । अहिलेसम्मको अनुसन्धानमा जलारीको डुङ्गा लिएर तालमा पुगेको भन्ने देखिएको छ । हामी अनुसन्धानमै छौं ।’ उनले बताए ।

डुङ्गा डुबेको खबर पाएलगत्तै खटिएको गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराको रेस्क्यू टिम सहितको प्रहरी टोलीले दुई जनाको उद्दार गरेको हो ।

हराएका सुमितको खोजी कार्य मंगलबार बिहानबाट पुनः थालिने डिएसपी ढकालले बताए ।

यो पनि:

फेवातालमा डुङ्गा डुब्यो, दुई जनाको सकुशल उद्दार, एक बेपत्ता

कमेन्ट गर्नुहोस्
Share: