पोखराको सृजनाचोकदेखि आलु माइला चोकसम्म फागुन २३ गतेदेखि आठौँ सिटी रेवान महोत्सव

Share:

पोखरा । पोखरामा आठौँ सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल हुने भएको छ । ‘पर्यटन प्रवर्धन सँगसँगै’ भन्ने नाराका साथ सिटी रेवान पोखराको आयोजनामा ‘आठौँ सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल २०७६’ हुने भएको हो ।

मङ्गलबार आयोजक सिटी रेवानले पत्रकार सम्मेलन मार्फत पोखराको सृजनाचोकदेखि आलु माइला चोकसम्म फुड फेष्टिबल आयोजना गरिने जानकारी गराइएको हो । महोत्सव फागुन २३ गतेदेखि २५ गतेसम्म चल्ने छ ।

आठौँ रेवान महोत्सवमा नेपाल भ्रमण वर्ष २०२० का केही कार्यक्रम जोडिने सिटी रेवान पोखराका महासचिव जीवन दाहालले जनाए । महोत्सवमा व्यवसाय रेष्टुरेन्ट प्रयोजनका लागि १६ स्टल एवं अन्य प्रयोजनका लागि १० स्टल राखिने दाहालले बताए ।

आलुमाइला चोकसम्म महोत्सव सञ्चालन गर्न सम्बन्धित निकायसँग अनुमति समेत लिइएको उनले बताए । सर्वसाधारणलाई मर्का नपर्ने गरी महोत्सव सञ्चालन गरिने र यसले आन्तरिक पर्यटनमा समेत जोड दिने उनले विश्वास व्यक्त गरे ।

महोत्सवमा दर्शकले राष्ट्रिय तथा स्थानिय स्तरका चर्चित लोक दोहोरी कलाकारको प्रस्तुती सँगै सुगम संगित पनि देख्न पाउने आयोजकले जनाएको छ । महोत्सवमा हाँस्य कलाकारहरुको दैनिक प्रस्तुती रहनेछ । स्थानियले उत्पादन गरेका कृषि उत्पादनहरु समेत प्रदर्शनीमा राखिने भएको छ ।

महोत्सवमा दर्शकको मनोरञ्जनका लागि विभिन्न प्रतियोगिताहरु समेत समावेश गरिने भएको छ । महोत्सवमा ढिँडो खाने प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता सँगै भाले छोप्ने प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जानकारी दियो ।

महोत्सव सञ्चालनको समय छोट्याइयो:
सिटि रेवान पोखराले यसघि लामो समयसम्मका लागि महोत्सव सञ्चालन गर्ने गरेको थियो । साताँै संस्करणको महोत्सव ९ दिनसम्म चलेको थियो ।
यस्तै छैटौँ रेवान महोत्सव १० दिनसम्म आयोजना गरिएको थियो । तर यस पटक भने आयोजकले महोत्सव केबल ३ दिनसम्म आयोजना गर्ने भएको छ ।

यसपटक सडकमा गर्न लागेकाले महोत्सव ३ दिनसम्म मात्र सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष दिपिक तिमिल्सिनाले जानकारी दिए । साथै बढ्दो कोरोना भाइरसको प्रकोपका कारण महोत्सव छोट्याइको तिमिल्सिनाले जनाए ।

निशुल्क प्रवेशको सुविधा:
आठौँ रेवान महोत्सवमा सर्वसाधारणले निशुल्क प्रवेश पाउने भएका छन् । यसअघिका संस्करणमा टिकट काटेर महोत्सवमा प्रवेश गर्ने नियम भएपनि यसपालि भने सबैले निशुल्क प्रवेश पाउने भएका हुन् ।

टिकटबाट धेरै बचत नहुने भएकाले टिकट सिस्टम हटाइको रेवान पोखराका महासचिव जिवन दाहालले बताए । यस्तै नेपाल भ्रमण वर्षका कार्यक्रम पनि जोडिने र यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने आशामा टिकट निशुल्क गरिएको उनले जनाए ।

बचतबाट अनाथ बालबालिका र बृद्धबृद्धालाई सहयोग:
आयोजकले महोत्सव अवधि भर करिब तीस हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ । साथै महोत्सवमा २० लाख ५० हजार आम्दानी हुने र २० लाख खर्च हुने अपेक्षा समेत आयोजकको रहेको छ ।

महोत्सवबाट बचत हुने ५० हजार रुपैँया सामाजिक कार्यका लागि खर्च गर्ने आयोजकले प्रतिवद्धता व्यक्त गरेको छ । कुल बचतको ५ प्रतिशत बालबालिकाका लागि र बृद्धबृद्धाका लागि खर्च गर्ने आयोजकले जनायो । यस्तै केही रकमा पर्यटन प्रवद्र्धनका लागि खर्च गर्ने आयोजकले लक्ष्य लिएको छ ।

महोत्सव सञ्चालनार्थ १२ उपसमिति गठन:
महोत्सव सञ्चालन गर्नका लागि आयोजकले विभिन्न १२ उपसमिति गठन गरेको छ । सिटी रेवान पोखराका अध्यक्ष दिपक तिमिल्सिनको संयोजकत्वमा उपसमितिहरु गठन गरिएको हो । संस्थाका महासचिव जिवन दाहालको संंयोजकत्वमा प्रचार प्रसार समिति गठित भएको छ।

यस्तै राम प्रसाद ज्ञवालीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ भने दिपक तिमिल्सिनाको संयोजकत्वमा साँस्कृतिक समिति गठन भएको छ । ६ सदस्यीय अनुगमन समितिसमेत गठन भएको छ जसको संयोजकमा चिरञ्जीवी श्रेष्ठ छन् ।

यस्तै सुरक्षा तथा संघसंस्था समन्वय समिति, मञ्च एवं साउण्ड व्यवस्थापन समिति,अतिथि सत्कार व्यवस्थापन समिति, रेष्टुरेन्ट व्यवस्थापन समिति, सरसफाई समिति, प्राथमिक उपचार समिति गठन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: