सबभन्दा बढी वायु प्रदूषण भएका देशको सूची जारी, नेपाल आठौँ नम्बरमा

1026
0
Share:

काठमाडौं । संसारमा सबभन्दा खराब वायु प्रदूषण भएका मुलुकको सूची आईक्यूएयर नामक संस्थाले सार्वजनिक गरेको छ । सूचीमा नेपाल आठौं स्थानमा छ । देशहरूको सूचीका साथै वायु प्रदूषण भएका शहरहरूको सूची पनि उक्त संस्थाले जारी गरेको छ ।

उक्त संस्थाको ताजा सूचीमा काठमाडौं पाँचौं स्थानमा छ । उक्त सूचीमा छिमेकी मुलुक भारत तेस्रो स्थानमा छ भने चीन १२ औं स्थानमा छ । विश्वका सबभन्दा बढी प्रदूषित ३० शहरमध्ये २१ वटा भारतमै रहेको र शीर्ष १० मध्ये ६ शहर त्यहीँ रहेको आईक्यूएयर एयरभिजुअसको २०१९ को वर्ल्ड एयर क्वालिटी रिपोर्टको आँकडामा देखिएको छ ।

दिल्ली सबभन्दा प्रदूषित शहर हो भने ढाका दोस्रो र लाहोर तेस्रो स्थानमा छ । दिल्लीको एयर क्वालिटी इन्डेक्स २४३ छ जुन स्वास्थ्यको स्तरभन्दा निकै धेरै हो । आईक्यूएयरका अनुसन्धाताहरूले मोनिटरिङ स्टेसनहरूबाट प्राप्त रिपोर्टका आधारमा आँकडा तयार पारेका हुन् । त्यसमा हावामा सूक्ष्म तत्व अर्थात् पार्टिकुलेट म्याटर (पीएम) को स्तर हेर्ने गरिन्छ ।

देशव्यापी रिपोर्टमा भने बांग्लादेश विश्वको सबैभन्दा प्रदुषित मुलुक रहेको पाइएको छ । त्यसपछि पाकिस्तान, मंगोलिया, अफगानिस्तान, भारत क्रमशः पाचौँ स्थानसम्म रहेका छन् । नेपाल पनि यसमा आठौँ नम्बरमा आएको छ । नेपालको हावा विशेषगरी संवेदनशील समूहका लागि धेरै अस्वस्थकर मानिएको छ । नेपालको हावाको गुणस्तर पीएम ४४.५ रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदुषणका कारण वार्षिक ७० लाख मानिसको समय अगावै मृत्यु हुने गरेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: