
काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपाल हङकङसंग ४३ रनले पराजित भएको छ। बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा १५५ रनको लक्ष्य पच्छ्याएको नेपाल १८ ओभर १ बलमा १ सय ११ रनमा समेटियो।
ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछि निरन्तर विकेट गुम्दा नेपालले लक्ष्य भेट्टाउन सकेन।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै कुशल मल्लले १९ रन जोड्दा आरिफ शेखले १० रन बनाए ।
हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए । यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए । यसघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।
हङकङका निजाकट खानले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै कप्तान अजिज खानले २९ रन जोड्दा हरुन मोहमद अर्सादले २७ रन बनाए । जेम्स जोनले १३ रन जोड्दा वाकस खान ५ रनमा अविजित रहे। नेपालका सन्दीप लामिछाने र सुशान भारीले २/२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।
शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २३ रनले पराजित भएको थियो। लगातर दुई हार पछि नेपाललाई एसिया कपको छनौट चरणमा धक्का लागेको छ।
