
अनिष भट्टराई, पोखरा । १८ औँ संस्करणको आहा ! रारा गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक सहारा फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
फागुन २२ देखि चैत १ सम्म आयोजना हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा ए डिभिजन लिगका ७ टोलीको सहभागिता रहँदा १ विदेशी क्लबले प्रतिष्पर्धा गर्ने छ । आयोजक सहारा फुटबल क्लबसँगै अन्य १ क्लबको समेत सहभागिता रहने छ ।
प्रतियोगितामा आयोजक सहारा क्लबसँगै रुसलान थ्री स्टार, त्रिभुवन आर्मी क्लब, नेपाल आयल निगम मनाङ म¥याङ्दी, नेपाल पुलिस, एपिएफ क्लब, संकटा क्लबको सहभागिता रहेको छ । झापा ११, बिग्रेड ब्वाइज क्लब र भारतको गान्टोक सिटि क्लबले समेत प्रतिष्पर्धा गर्ने छन् ।
यस वर्ष विजेताले रू १० लाख १ हजार पाउँदा उपविजेताले रू ५ लाख १ हजार पाउने छ । गएको संस्करणको विजेताले रू ८ लाख १ हजार रुपैयाँ नगद प्राप्त गर्दा उपविजेताले रू ४ लाख १ हजार हात पारेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेष्ट अफ फाइभ, फेयर प्ले र निर्णयकलाई ट्रफी र मेडल प्रदान गरिने छ । यस्तै हरेक खेलको म्यान अफ दि म्याचलाई रू ५ हजार दिइने छ ।
यस्तो छ खेल तालिकाः
आयोजक सहारा फुटबल क्लबले सार्वजनिक गरेको खेल तालिका अनुसार यस संस्करणको पहिलो खेलमा फागुन २२ गते आयोजक सहारा क्लब पोखराले ब्रिगेड ब्वाइज क्लबको सामना गर्ने भएको छ । दोस्रो खेलमा २३ गते एपिएफ क्लबले झापा ११ सँग खेल्ने छ । यि दुई खेल पश्चात् क्वाटरफाइनलका खेल हुनेछन् ।
यस्तै तेस्रो खेलमा सहारा क्लब र ब्रिगेडबिच हुने पहिलो खेलको विजेताले नेपाल पुलिस क्लबसँग २४ गते खेल्ने छ । २५ गते एपिएफ र झापाको खेलको विजेताले मनाङ म¥याङ्दी क्लबसँग खेल्ने छ । यि दुई खेलका दुई विजेताले सेमिफाइनलमा आफ्नो स्थान बनाउने छन् ।
क्वाटरफाइनलकै अर्को खेलमा २६ गते गान्टोक सिटि क्लबले थ्री स्टार क्लबसँग खेल्ने छ । २७ गते भने संकटा क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । सेमिफाइनलका खेलहरु क्रमशः फागुन २८ र २९ गते हुनेछ । फाइनल खेल भने चैत्र १ गते दिउँसो २ बजे हुने जनाइएको छ ।
टिकट मूल्य निर्धारण
आयोजक सहारा क्लबले १८ औँ संस्करणको यस प्रतियोगिताका लागि गेट टिकट शुल्क निर्धारण गरेको छ । आयोजकले प्रि–क्वाटरफाइनल, क्वाटर फाइनल तथा सेमिफाइनल र फाइनल खेलका लागि फरक फरक दरको टिकट निर्धारण गरेको छ ।
प्रि–क्वाटरफाइनलका खेलका लागि दर्शकले रु १ सयको टिकट काट्नुपर्ने भएको छ । क्वाटरफाइनल तथा सेमिफाइनलका खेलका लागि रु १ सय पचास र २ सय रुपैँयाको टिकट निर्धारण गरिएको छ । फाइनलमा भने २ सय पचास रुपैँयाको दरको टिकट लाग्ने छ । साथै प्रतियोगिता अवधिभर खेल हेर्न पाउने गरि रु १ हजार ५ सयको सिजनल टिकटको व्यवस्था समेत आयोजकले मिलाएको छ ।
सुजल श्रेष्ठलाई सम्मान गरिने
आयोजकले विगतका वर्षहरू देखि नै उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जनालाई सम्मान गर्दैै आएको छ । यस वर्ष आयोजकले ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट सुजल श्रेष्ठलाई सम्मान गर्ने भएको छ । श्रेष्ठलाई नगद रु ३५ हजारबाट सम्मान गरिने आयोजकले जनाएको छ । यस्तै उनलाई प्रमाण पत्र, दोसल्लाले समेत सम्मान गरिने जनाइएको छ । उक्त नगद पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङ्गले गरेका हुन् ।
भाग्यशाली दर्शकलाई उपहार
खेल अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शक मध्ये १ जना दर्शकलाई आयोजकले उपहार प्रदान गर्ने भएको छ । भाग्यशाली १ दर्शकलाई सि.जि ईलेक्ट्रोनिक प्रा.लीबाट १ थान एल.जि.टि.भि प्रदान गरिने आयोजकले जनाएको हो । साथै टिकट काटेर जाने दर्शकलाई मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लिले रारा तयारी चाउचाउ निशुल्क वितरण गर्ने भएको छ ।
प्रतियोगिताबाट रू १ करोड १८ लाख १ हजार आम्दानी र रू ९९ लाख ३८ हजार ५ सय खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट नाफा भएको रकम क्लबले संचालन गरेको सहारा एकेडेमीको खर्च गर्ने गरिन्छ ।
एकेडेमी संचालन गर्न वार्षिक करिब २० देखि २२ लाख खर्च हुने गर्दछ । हाल एकेडमीमा देशका विभिन्न १४ जिल्लाका २४ जना बालक आश्रित छन् ।
तस्बिर: सुदर्शन रंजित
