संसद बैठक आज : कालापानीबाट भारतीय सेना हटाउने र कोरोनाविरुद्ध एकजुट हुनुपर्ने प्रस्ताव पेश हुँदै

506
0
Share:

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नेपाली भूभागमा रहेका भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश हुने कार्यसूची छ ।

नेकपाका सांसद खगराज अधिकारीले नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक रहेको भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जारी गरेको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ । यो प्रस्तावको सांसद रामकुमारी झांक्रीले समर्थन गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, कोरोना भाइरसविरुद्ध राष्ट्रिय संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्ने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि पेश हुने भएको छ।

नेपाली कांग्रेसका सांसद गगन थापाले यस विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। प्रस्तावको पक्षमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणी राजभण्डारी, राजेन्द्रकुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गर्नेछन्।

कमेन्ट गर्नुहोस्
Share: