
काठमाडौं । बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य आरोपी १२ वर्षपछि पक्राउ परेका छन् । १२ वर्षदेखि फरार रहेका महागढीमाई नगरपालिका ६ निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई प्रहरीले आज बिहान २ बजे पक्राउ गरेको हो ।
घटनापछि लामो समय खुलेयाम घुम्दै आएका फौजदार पछिल्लो समय लुकेर बसेका थिए। फरार रहेका फौजदार घरमा आएको सूचना पाएपछि बारा प्रहरीको टोली राति उनको घर पुगेको र घरलाई घेरा हालेर फौजदारलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीको नियन्त्रणमा रहेका फौजदारलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ। पत्रकार साह हत्यामा संलग्न अन्य दुई लालबहादुर चौधरी धामी र ईनर्वा मझरियाका हरेराम पटेल अझै फरार छन्।
एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार साहको २०६४ असोज १८ गते बाराको पिपरा बजारबाट अपहरण भएको थियो। अपहरणपछि खोज्दै जाने क्रममा साहको शव कार्तिक २२ गते (अपहरणको ३५ दिनपछि) डुमरबाना गाविस ९ मा पर्ने चारकोसे जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।
