मनाङ आहा ! रारा गोल्डकपको सेमिफाइनलमा, झापा–११ पराजित

Share:

पोखरा । नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब १८ आँै संस्करणको आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार झापा–११ लाई पराजित गर्दै मनाङले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

पोखरा रङ्गशालामा भएको खेलमा मनाङले झापा–११ लाई १–० को गोल अन्तरले पराजित ग¥यो । उसका लागि अन्जन विष्टले गोल गरे ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अन्जन विष्टले गोल गरेका थिए । खेलको ७४ आँै मिनेटमा अन्जनले गरेको गोल नै निर्णायक बनेको थियो ।

अब मनाङले २७ गते हुने त्रिभुवन आर्मी क्लब र संकटा क्लबबिचको बिजेतासँग फाइनल प्रवेशका लागि खेल खेल्नेछ । मनाङ बाइ पाएर सिधै क्वाटरफाइनलमा प्रतिस्पर्धा गरेको हो भने झापाले प्रि–क्वाटरफाइनलमा एपिएफलाई टाइ ब्रेकरमा पराजित गर्दै मनाङसँगको भेट पक्का गरेको हो ।

यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनलको खेलमा नेपाल पुलिस क्लबले घरेलु क्लब सहारालाई टाइ ब्रेकरमा पाखा लगाउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।

रारा तैयारी चाउचाउको प्रायोजन र सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गते देखि चलिरहेको प्रतियोगिता चैत १ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख १ हजार रकम पुरस्कार प्राप्त गर्नेछ । आयोजकले विधागत पुरस्कारको समेत व्यवस्था मिलाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: