
पोखरा । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (सोमबार) हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।
तर कोभिड १९ ९कोरोना० को जोखिम बढेकाले यसपालिको होली अघिल्ला वर्षहरु जस्तो नहुने भएको छ । ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्याँक्ने, रंग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिबिधि नगर्न अनुरोध गरेको छ ।
यसैबिच पोखरामा पनि धेरै मानिसहरु जमघट भएर, भिडभाड गरेर होली पर्व नमनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले निर्देशन दिएको छ । साथै होली पर्वमा प्रशासनले दिएको निर्देशन विपरित कार्य गर्ने उपर कारवाही गरिने समेत प्रशासनले चेतावनी दिएको छ ।
होलिका नाममा कसैको इच्छा विपरित रंग लगाउने र मादक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता कार्य गरेमा कारवाही हुने बताइएको छ ।
