
पोखरा । विभागिय टोली नेपाल पुलिस क्लब १८ औँ संस्करणको आहा ! रारा गोल्डकपमा फाइनल प्रवेश गरेको छ ।
प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो ।
पोखरा रङ्गशामा भएको खेलमा पुलिसले थ्री स्टारलाई ३–० गोल अन्तरले पराजित ग¥यो ।
नेपाल पुलिसका लागि खेलको ७ औँ मिनेटमा कप्तान भरत शाहले गोल गरे । रवि पाश्वानको क्रसमा उनले गोल गरे । यस्तै दोस्रो गोल खेलको ५२ औँ मिनेटमा निर कुमार राईले गोल गर्न सके । ७१ औँ मिनेटमा निर कुमार राईले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३–० को अग्रता दिलाए ।
खेलको १८ औँ मिनेटमा थ्री स्टारका अन्जन राईले गोल गर्ने निकै राम्रो मौका पाएपनि गोल गर्न सकेनन् । सन्जोक राईले निकालेको पासमा अन्जनले गरेको प्रहार पुलिसका डिफेन्डर सन्तोष हेमरुनले रोक्न सके ।
खेलको ३३ औँ मिनेटमा कर्नर किकको रिबाउन्ड बललाई प्रहार गरेका सन्जोक राईको बल पुलिका गोलरक्षक रोशन खड्काले बचाए । खेलको ६२ औँ मिनेटमा थ्री स्टारका दुई प्रहार पुलिसका गोलरक्षक खड्काले उत्कृष्ट बचाउ गरे ।
नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा घरेलु क्लब सहारालाई टाइ–ब्रेकरमा पाखा लगाउँदे सेमिफाइनल यात्रा तय गरेको हो । यता थ्री स्टार भने क्वाटरफाइनलमा गान्टोक सिटी एफसी भारतलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।
दोस्रो सेमिफाइनलको खेल भोली हुनेछ । उक्त खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ ।
सहारा क्लबको आयोजना र रारा चाउचाउको प्रायोजनमा फागुन २२ देखि चलिरहेको प्रतियोगिता चैत १ गते सम्म चल्नेछ । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता टोलीले १० लाख १ हजार रुपैँया पुरस्कार पाउँदा उपविजेताले ५ लाख १ हजार पाउनेछ ।
