
काठमाडौँ । इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु भएको छ । घटनामा बिरामी परेका २७० जनालाई अस्पतालमा भर्ना गरिएको छ । खुजिस्तान प्रान्तको अभाज शहरमा यो घटना भएको हो ।
कोरोना भाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच उनीहरुले रक्सी पिएका थिए । रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको छ ।
योसँगै इरानमा कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या ५४ पुगेको छ । कोरोनाका कारण इरानमा अहिलेसम्म मृत्यु हुनेको संख्या २९१ पुगेको छ भने संक्रमितको संख्या ८,०४२ पुगेको छ ।
चीनको वुहानबाट शुरु भएर विभिन्न १ सय १८ देशमा फैलिएको कोरोना भाइरसबाट आज (बुधबार) विहानसम्म ४२ सय ९५ जनाको मृत्यु भएको छ । यस्तै, एक लाख १९ हजार १७६ जनामा संक्रमण भएको छ । एजेन्सी, बीबीसी ।
्
