कोरोना महामारी : भारतमा ज्यान गुमाउनेको संख्या दुई पुग्यो, संक्रमितको संख्या ८२

Share:

काठमाडौं । भारतमा कोरोना (कोभिड १९) संक्रमित थप एक जनाको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले मृतक महिलाको कोरोना भाइरस र अरु केही स्वास्थ्य समस्याका कारण मृत्यु भएको पुष्टि गरेका छन् । ती महिलामा पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्शन जस्ता स्वास्थ्य समस्या रहेको बताइएको छ । ज्यान गुमाएकी महिलामा उनको छोराबाट संक्रमण सरेको अनुमान छ ।

उनका छोरा ५ फेब्रुरीदेखि २२ फेबु्रअरीसम्म विदेशमा थिए र २३ फेब्रुअरीमा स्विट्जरल्याण्ड र इटाली हुँदै भारत फर्किएका थिए । ती युवामा कोरोना पुष्टि भएको केही दिनमा नै आमामा पनि कोरोना भएको पाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले ती युवा र ज्यान गुमाएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राखिएको छ ।

यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको ज्यान गएको थियो । उनी साउदी अबरबाट फर्किएका थिए ।
भारतमा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६५ जना भारतीय नागरिक रहेका र अरु १७ जना विदेशी नागरिक रहेका तथा १० जना उपचारपछि निको भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतले मात्रै अहिलेसम्म ११ लाख ७१ हजार ६१ जनाको कोरोना परीक्षण गरेको जनाएको छ ।

यसैबीच भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीले जानकारी दिएका छन्। साथै भारतले प्रकोप रहेका विश्वका विभिन्न सातवटा देशबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने बताएको छ। भारत सरकारले बिहीवार उक्त जानकारी दिएको छ। कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तरराष्ट्रिय संस्थाहरूका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसा भने यथावत् रहने बताइएको छ।

भारत सरकारले चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ। ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारले जनाएको छ। यस्तै भारतले बंगलादेशसँगको रेल र बस सेवा एक महिनाको लागि बन्द गर्ने निर्णय गरेको छ । आज देखि आउँदो वैशाख ३ गतेसम्म दुई देशबीचको यातायात सेवा बन्द गर्ने निर्णय गरिएको भारतको गृह मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: