प्रधानमन्त्री ओलीको उपचार खर्च जम्मा ५ देखि ६ लाख रुपैयाँ

538
0
Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्दा ५ देखि ६ लाख रुपैयाँ खर्च लागेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । जटिल अवस्थामा समेत प्रधानमन्त्रीले स्वदेशकै अस्पताल र चिकित्सकमाथि विश्वास गरी यहीं उपचार गराउँदा विपक्षी दलहरुबाट समेत प्रशंसा पाइरहँदा विदेशमा भन्दौ कयौं सस्तोमा उपचार भएकोमा राज्यको व्ययभार समेत कम भएको छ । विदेशमा उपचार भएको खण्डमा लाखौं खर्च हुन्थ्यो ।

शुक्रबार प्रधानमन्त्री डिस्चार्ज भई बालुवाटार निवास फर्केपछि पत्रकारसँग कुरा गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले उपचार खर्च पुरै हिसाब गरि नसके पनि ५ देखि ६ लाख लागेको बताए । अब प्रधानमन्त्रीको स्वास्थ्यको रेखदेख निजी चिकित्सक र नर्सहरुले बालुवाटारमै गर्ने उनले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट घर फर्किए । मिर्गौला प्रत्यारोपणका लागि १२ दिनको अस्पताल बसाइपछि शुक्रबार साँझ प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो ।

शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली केहीबेर अघि डिस्चार्ज भएका हुन् । १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रधानमन्‍त्री ओलीकामहत्वपूर्ण अंगका परिसूचक र परीक्षणहरु राम्रो अवस्थामा रहेका छन् । उनकी मिर्गौलादाता समीक्षा संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।

‘सम्माननीय प्रधानमन्‍त्री श्री केपी शर्मा ओलीज्यू त्रिवि शिक्षण अस्पतालमा २०७६ फागुन १९ गते भर्ना हुनु भई फागुन २१ गते उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो । आज उहाँलाई अस्पतालबाट पूर्ण स्वास्थ्यलाभपछि डिस्चार्ज गरिएको छ’, मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभाग प्रमुख एवं प्रधानमन्‍त्रीका निजी चिकित्सक दिव्या सिंह शाहले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उहाँका Vital तथा Lab Parameter राम्रो अवस्थामा रहेका छन् ।’

अस्पतालले प्रधानमन्‍त्रीले आवश्यक सतर्कताका साथ नियमित सबै काम गर्न सक्ने जनाएको छ । घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए । प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

यद्यपि चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन् । अस्पतालमा रहँदा पनि उपचारमा संलग्न चिकित्सकबाहेक मिर्गौला दाता समीक्षा र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई मात्र प्रधानमन्त्रीलाई भेट्न दिइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: