प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तनहुँ जिल्लालाई डेढ करोड बजेट

Share:

तनहुँ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा तनहुँ जिल्लालाई रु डेढ करोड बजेट प्राप्त भएको छ ।

सरकारले गत आर्थिक वर्षदेखि शुरु गरेको कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहले रु एक करोड ४९ लाख बजेट प्राप्त गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सशर्त अनुदानवापतको उक्त रकम स्थानीय तहमा पठाइसकेको छ ।

जिल्लाको घिरिङ गाउँपालिकाले अनुदानवापतको बजेट प्राप्त गरेको छैन । मन्त्रालयका अनुसार बेरोजगारको सङ्ख्या र प्राथमिकतामा परेको आयोजनाको सूची नपठाएका कारण घिरिङलाई बजेट पठाएको छैन ।

कार्यक्रम सञ्चालनका लागि व्यास नगरपालिकालाई रु २८ लाख ४३ हजार, भानु नगरपालिकालाई रु २५ लाख ३२ हजार, शुक्लागण्डकी नगरपालिकालाई रु १८ लाख ८९ हजार र भीमाद नगरपालिकालाई रु ११ लाख ७९ हजार विनियोजन गरिएको छ ।

आँबुखैरेनी गाउँपालिकालाई रु २० लाख पाँच हजार, बन्दीपुर गाउँपालिकालाई रु १४ लाख ६० हजार, ऋषिङ गाउँपालिकालाई रु १० लाख, म्याग्दे गाउँपालिकालाई रु १० लाख र देवघाट गाउँपालिकालाई रु १० लाख विनियोजन भएको छ ।

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम १०० दिनको रोजगारी पाउन सक्नेछन् ।

कार्यक्रममा सहभागी हुनका लागि १०० दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यसअनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्ष उमेर समूहकाले फारम भरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: