
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुबीच भिडियो कन्फरेन्स हुने भएको छ । आज (आइतबार) भारतीय समयअनुसार साँझ ५ बजे हुने भिडियो कन्फरेन्समा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् ।
उनी सिहंदरबारस्थित प्रधामन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट भिडियो संवादमा सहभागी हुुने बताइएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि त्यसविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहकार्य गर्ने प्रस्ताव अघि सारेका थिए । मोदीको प्रस्तावलाई सार्क राष्ट्रहरुले स्वागत गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सार्कं राष्ट्र नेपाल, पाकिस्तान, भारत, अफगानिस्तान, भुटान,माल्दिभ्स र श्रीलंकाका नेताहरुबीच एक साथ भिडियो संवाद हुनेछ । संवादमार्फत सार्क राष्ट्रका नेताहरुले आफ्ना अनुभव र संक्रमण नियन्त्रणका उपायबारे छलफल गर्नेछन् ।
पछिल्लो तथ्याङ्क अनुसार भारतमा १००, पाकिस्तानमा ३३, अफगानिस्तानमा ११, श्रीलङ्कमा १०, माल्दिभ्समा १०, बंगलादेमा ५, नेपाल र भुटानमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसको संक्रमणबाट भारतमा २ जनाको मृत्यु भइसकेको छ ।
