काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु

Share:

काभ्रे । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनौतीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रणका लागि प्रशासनले मंगलबार बिहान ९ बजेदेखि अर्को सुचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।

पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ । त्यस्तै, बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका थिए। उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। त्यसपछि आक्रोशित आफन्तजनले पनौतीमा आन्दोलन गरेका थिए।

सोमबार साँझदेखि भएको आन्दोलन नियन्त्रणमा नआएकोले कर्फ्यु जारी गरेको हो। आक्रोशित भीड र प्रहरीबीच झडप समेत भएको थियो। त्यसक्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार र आन्दोलनकारी घाइते भएका थिए। तर गोली कसले चलायो भन्नेबारे खुलेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: