पर्वत कार्किनेटाका पौडेल पोखराको ड्याममा मृत भेटिए

Share:

पर्वत । गत फागुन २२ गतेदेखि हराइरहेका पर्वत कार्कीनेटा घर भई हाल पोखरा २४ डाँडाखेत बस्दै आएका ३३ बर्षिय हरिप्रसाद पौडेल मेत भेटिएका छन् ।

पोखरा २४ स्थित बेत्यानी खोलामा पोखरा महानगरले निर्माण गरिरहेको ड्याम क्षेत्रमा पुरिएको अवस्थामा उनी भेटिएका हुन् । सिल्टेसन ड्याम बनाउन खनिएको पोखरीबाट निकालिएको ढुङ्गा, गिटीले पुरिएको अवस्थामा विहिबार उनको शव फेला परेको हो ।

पौडेल फागुन २२ गते गोरुलाई औषधी किन्न भनेर बजार गएका थिए । त्यसपछि उनी नफर्केपछि २३ गते उनका परिवारले प्रहरीलाई मौखिक जानकारी गराएका थिए । अझै सम्पर्कमा नआएपछि फागुन २६ गते पौडेल हराएको भन्दै आफन्तले प्रहरीलाई लिखित निवेदन दिएका थिए ।

यसबीचमा पौडेल भारतको मद्रास पुगेको हल्ला चलेको स्थानीय बताउँछन् । तर भारतमा नगएको पक्कापक्की भएपछि प्रहरीलाई नै खोजिदिन आग्रह गरेको उनीहरुको भनाई छ । पौडेलले गोरुलाई औषधी खरिद गर्न घरबाट २ सय रुपैयाँ लिएर गएको, औषधी उधारो किनेर रक्सी खाएको स्थानीयले बताएका छन् ।

उनी घर फर्कने क्रममा रक्सी लागेको र सिल्टेसन ड्याम भन्दा माथिको बाटो घर जाँदै गर्दा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । उनी खसेको ठाउँमा ज्याकेट, मोबाइल, सुर्ती, गोरुका लागि किनेको औषधी लगायत भेटिएको जनाएको छ । उनको खोजीमा पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको सक्रियता पनि देखिएको थियो ।

रोल्पाका मगर पोखरामा सुतेकै अवस्थामा मृत भेटिए ।

रोल्पा घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका १६ लामाचौर बस्ने वर्ष २७ को सुनिल पुन मगर बुधबार बेलुका खाना खाई सुतेकोमा विहीबार बिहान अबेरसम्म नउठे पछि उठाउँदा अचेत अवस्थामा भेटिएकोमा उपचारको लागि मातृ शिशु अस्पताल ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिएको र अहिले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

मुक्तिनाथ दर्शन गर्न गएका तनहुँका २८ वर्षीय रानाभाट मृत फेला

मुक्तिनाथ दर्शन गर्न गएका तनहुँका एक युवक मृत भेटिएका छन् । विहीबार बिहान पौने ८ बजेतिरको समयमा मुस्ताङ थसाङ गाउँपालिका ३  खाङ्लो होटल नजिक कालीगण्डकी नदी किनारको पानीमा घोप्टो अवस्थामा मृत भेटिएका व्यक्ति तनहुँ भिमाद नगरपालिकाका २८ वर्षीय जित बहादुर रानाभाट रहेको प्रद्श प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान गर्दा रानाभाट ३ गते मुक्तिनाथ मन्दिर दर्शन गर्न आएको भन्ने बुझिएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: