
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले डेङ्गु रोगको सङ्क्रमण देखिन थालेकाले त्यसको रोकथाम गर्न तत्कालका लागि रु पाँच लाख बराबरको आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।
पालिकाको बैठकले आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषको रकमबाट कोरोना सङ्क्रमणका विषयमा सचेतनामूलक कार्यक्रमका साथै डेङ्गु नियन्त्रणका लागि सरसफाइ कार्यक्रम गरिने योजना रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
त्यसैगरी व्यावसायिक शुल्कमा ५० प्रतिशत छुट दिने गाउँपालिकाले निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण व्यापार व्यवासय प्रभावित हुँदै गएकाले राहतस्वरुप व्यावसायिक शुल्कमा छुट दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् ।
उनका अनुसार कोरोना भाइरसका कारण अहिले सबै क्षेत्र प्रभावित भइरहेको र त्यसमा पनि पर्यटन, उद्योग, व्यापार व्यवसायसमेत मारमा परेका कारण व्यवसायीलाई केही राहत प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।
