
काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) काे सङ्क्रमणका कारण इटलीमा एकैदिन झण्डै आठ सय मानिसको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा थप सात सय ९३ जनाको ज्यान गएर इटलीमा ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय २५ पुगेको बीबीसीले जनाएको छ । यस्तै एकैदिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर इटलीमा सङ्क्रमितको सङ्ख्या ५३ हजार पाँच सय ७८ पुगेको छ ।
सङ्क्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्धहरु लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घरबाहिर निस्कन पनि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।
अस्पताल, सडक र रेलमा काम गर्ने बाहेक निर्माण लगायतका सबै काम रोकिएको छ भने खुला बजारहरु पूर्णरुपमा बन्द गरिएका छन् ।
यस्तै स्पेनमा शनिबार एकैदिन दुई सय ८५ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ७८ पुगेको छ । इरानमा पनि एकैदिन एक सय २३ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ५६ पुगेको छ ।
