
भक्तपुर – विभिन्न देशबाट स्वदेश फर्किएका ६२ जना नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेण्टाइनमा राखिएकाे छ ।
विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएसँगै दुबई र कतारलगायतका देशबाट फर्किएका उनीहरुलाई क्वारेण्टाइनमा पठाइएको हो ।
थाई एयरवेजबाट आएका ४९ र एयर इण्डियामा आएका १३ जना नेपालीलाई क्वारेण्टाइनमा पठाइएको छ । क्वारेण्टाइनमा २ जना डाक्टरसहित नर्स र अरु स्वास्थ्यकर्मी गरी पाँच जना खटिएका र एउटा एम्बुलेन्स तथा त्यसका चालक तयारी अवस्थामा राखिएका छन् ।
उनीहरुलाई कम्तीमा १४ दिन क्वारेण्टाइनमा राखिनेछ । सङ्क्रमण पोजेटिभ देखिए उपचारका लागि शहिद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु लगिनेछ । आफ्नै ईच्छाले नेपाल फर्किएका उनीहरु क्वारेण्टाइनमा रहँदाको खर्च आफैँले बेहोर्नुपर्नेछ ।
