
पोखरा । जारी लकडाउनका कारण रगतको अभाव भैरहेका अवस्थामा यसको अभावलाई पूर्ति गर्न भरतपोखरी विकास मञ्चले आज रक्तदान गरेको छ । रेडक्रस सोसाइटी कास्की शाखाले रगत संकलनका लागि हालै पोखरामा भित्र्याएको अत्याधुनिक उपकरणमैत्री बसको प्रयोग गरी पोखरा महानगरपालिका वडा नं ३३ र २१को विभिन्न स्थानमा गरिएको रक्तदानमा १०७ युनिट रगत संकलन भएको छ ।
पोखरा ३३ भरतपोखरीका कालिकास्थान, महाकाली चोक, पानी टंकी, बसपार्क, उपल्लो पुडिटार, जीब्रे ढुङ्गा, शान्ति उदय, भगवती चौतारा, ठूलढुङ्गा र पोखरा २१ को द्वारमा बस मार्फत रक्तदान गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए । रक्तदानमा महाकाली टोल विकास संस्था, बाघमारा बहुउद्देश्यीय सहकारी संस्था, भरतपोखरी एवम् द्वार क्षेत्रका युवाहरूको विशेष सहयोग पु¥याएको मञ्चले जनाएको छ ।
लकडाउनसँगै रगको अभाव भएका अवस्थामा मानवीय सहयोगलाई दृष्टिगत गर्दै रक्तदानमा सहयोग पु¥याइएको महाकाली टोल विकास संस्थाका अध्यक्ष लालुप्रसाद पराजुलीले बताए । लकडाउनसँगै नियमित रक्तदान कार्यक्रम रोकिए पछि पोखरामा रगतको अभाव भएको क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए ।
विशेष गरी एबी पोजेटिभ र ए पोजेटिभ समूहको अझै अभाव भएको जानकारी दिदै उनले बस भित्र रक्तदान गर्न सकिने भएकोले लकडाउनका समयमा यो विशेष प्रभावकारी बनेको बताए । एक पटकमा तीन जनासम्मले रक्तदान गर्न सकिने बस भित्र रक्तदान श्यया, फ्रिज, प्राथमिक उपचार सामग्री सहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्था एवम् रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री राखिएका छन् ।
