
काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६४ हजार ७ सय २७ पुगेको छ। यस्तै संक्रमितको संख्या १२ लाख १ हजार ९ सय ६४ पुगेको छ भने २ लाख ४६ हजार ६ सय ३८ जना उपचारपछि निको भएका छन्।
कोरोना भाइरसका कारण अमेरिकामा हिजो एकै दिन एक हजार ४८ जनाको मृत्यु भएको छ। यो सँगै त्यहाँ मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ८ हजार ५ सय ३३ जना पुगेको छ। यस्तै फ्रान्समा हिजो एक हजार ५३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या साढे सात हजार नाघेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १५ हजारभन्दा धेरै र स्पेनमा झण्डै १२ हजारको मृत्यु भइसकेको छ । इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै कोरोना सङ्क्रमणबाट कुवेतमा पनि पहिलो व्यक्तिको मृत्यु भएको छ । त्यहाँको सरकारी समाचार संस्था कुवेत न्युज एजेन्सीका अनुसार शनिबार एक व्यक्तिको मृत्यु भएको छ । कुवेतमा सङ्क्रमितको सङ्ख्या ४७९ पुगेको छ भने ९३ सङ्क्रमित निको भइसकेको जनाइएको छ ।
यता छिमेकी देश भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६८ पुगेको छ । संक्रमितको संख्या दुई हजार ९ सय २ पुगेको जनाएको छ । कुल संक्रमित दुई हजार ९ सय २ जनामध्ये ५५ जना विदेशी रहेको जनाइएको छ ।
