
पोखरा । सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्विचोक पोखराले अति विपन्न घर–परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको बढ्दो प्रभावबाट आफ्नो रोजिरोटी गुमाई भोकै रहने स्थितीमा रहेका घर–परिवारलाई आज (आइतबार) एक कार्यक्रमका बिच राहत वितरण गरेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं.९ स्थित रहेका अति विपन्न तथा स्थानीय सरकारको पहुँचमा समेत पर्न नसकेका २० गरिब घरपरिवारलाई प्रत्यक्ष रुपमा राहत वितरण गरिएको छ । यस्तै अन्य १० घर धुरिलाई भने आफ्नो सिफारिस मार्फत सोही स्थान कै भृकुटी ऋण तथा बचत सहकारी संस्था लिमिटेड सँग समन्वय गरी कष्टकर जीवन बिताई रहेका जम्मा ३० घर धुरिलाई सहजता प्रदान गरेको जनाइएको छ ।
राहत प्याकेजमा प्रत्येक घरधुरिलाई १० किलो चामल, दाल, नुन, तेल लगायतका सामाग्री हस्तान्तरण गरिएको पृथ्विचोक सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बिपिन अधिकारीले बताए ।
नेपाल प्रहरी सँगै हातेमालो गर्दै समाजका विकृती विसंगती विरुद्ध विभिन्न जनमुखी अभियानहरुका साथ अघि बढिरहेको उक्त सामुदायिक प्रहरी सेवा केन्द्रले यस्तो महामारीको समयमा वितरण गरेको राहतबाट लाभान्वित हुने घरपरिवारले सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक पोखरा प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्विचोकका कार्यसमिति सदस्य साथै भृकुटी ऋण तथा वचत सहकारी संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

