
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दुई सय आठ देशमा फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा एक–एक जनामा कोरोना पुष्टि भएसँगै कोरोनाको सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय आठ पुगेको हो ।
यस्तै दुई वटा अन्तर्रा्ष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या साढे १२ लाख नाघेको छ । अहिलेसम्म १२ लाख ७३ हजार ७ सय ९ जनामा कोरोना पुष्टि भएकोमा दुई लाख ६२ हजार चार सय ८६ जना उपचारपछि निको भएका छन् ।
यस्तै विश्वमा मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ । हिजो (आइतबार) एकै दिन विश्वका विभिन्न देशमा चार हजार सात सय १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या अहिलेसम्म ६९ हजार ४ सय ५६ पुगेको छ ।
आइतबार सबैभन्दा धेरै अमेरिकामा १२ सय जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय १६ पुगेको छ। त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८६१ पुगेको छ।
अहिलेसम्म विश्वमा सबैभन्दा धेरै इटलीमा १५ हजार ८८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्पेनमा १२ हजार ६ सय ४१, फ्रान्समा ८ हजार ७८ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी छिमेकी देश भारतमा आइतबार थप १८ जनाको ज्यान गएको छ । भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय १७ पुगेको छ भने सात सय जना नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सङ्ख्या ४ हजार नाघेको छ ।
