‘लकडाउन’ छिट्टै अन्त्य हुँदैन, छुट्टै संयन्त्र चाहिँदैन – प्रधानमन्त्री

Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच शनिबार कोरोनाभाइरस रोकथाम र नियन्त्रणबारे ‘भिडियो कन्फरेन्स’ गरेका छन् । भिडियो कन्फरेन्स मार्फत ‘लकडाउन’ लाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

सिंहदरबारस्थित ‘एक्सन रूम’बाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गरेका थिए । प्रधानमन्त्री ओलीले भने–‘भारतमा संक्रमण फैलिनेक्रम बढिरहेको देख्दा–देख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु ।’

यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका थिए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’

कमेन्ट गर्नुहोस्
Share: