
काठमाडौं । धादिङ र गोरखामा गरिएको र्यापिड टेस्टमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्यचौकीमा गरिएको ‘र्यापिड टेस्ट’ मा एकजना पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको छ ।
ती व्यक्ति दक्षिण कोरियाबाट गत फागुन २० गते घर फर्किएका थिए । उनलाई जिल्ला अस्पताल धादिङबेसीको ‘आइसोलेसन’मा राखिएको छ । उनको थ्रोट स्वाबलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।
यस्तै गोरखामा पनि एक युवाको र्यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ। मंगलवार आरुघाटको स्वास्थ्य शाखाले कोरोनाको द्रुत परीक्षण विधिबाट परीक्षण गर्दा ३१ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएको हो । ती युवा बहराइनबाट गत चैत १ गते नेपाल आएका थिए। विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा उक्त युवाको रिपोर्ट पोजिटिभ देखिएको आरुघाटका स्वास्थ्य संयोजक विजय श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार अनुसार उनलाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।
यस्तै फागुनमा दुवईबाट फर्किएका ३१ वर्षीय अर्का एक जनाको आरडिटिमा रिपोर्ट नेगेटिभ आए पनि उनको पनि स्वाब काठमाडौं पठाइएको छ। उनीहरु दुवैजना आरुघाट गाउँपालिका वडा नम्बर ५ का हुन्। यसअघि उनिहरुलाई कोरोनाका कुनै लक्ष्यण नदेखिएको बताइएको छ। उनीहरुको परिवारलाई होम क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य कार्यालयको आयोजनामा आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखाले विदेशबाटफर्किएका २२ जनामध्ये २० जनाको कोरोनाको द्रुत परीक्षण विधिबाट परीक्षण गरेको थियो।
