
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) को कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको शनिबार मृत्यु भएको हो । ५२ वर्षीय एसीपी ओपोलो अस्पतालमा भर्ना भएका थिए ।
त्यस्तै, भारतका अन्य २६ सुरक्षाकर्मीमा पनि कोरोना संक्रमित भएका छन् । भारतीय जलसेनाका २६ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।
भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार, पोजेटिभ देखिएका नौ सैनिक मुम्बईस्थित पश्चिम कमाण्डका हुन् । रिपोर्ट पोजेटिभ आएलगत्तै ती सैनिकहरूको उपचार प्रक्रिया थालिएको बताइएको छ ।
यो सँगै अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १४ हजार तीन सय ७८ जना पुगेको छ । ती मध्य चार हजार दुई सय ९१ संक्रमित ताबलिगी जमातको मुस्लिम भेलासँग सम्बन्ध भएका मानिस रहेको पाइएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारत सरकारले प्रतिबन्ध लगाएकै अवस्थामा गत मार्च १ देखि १५ सम्म ताबलिगी सम्मेलन भएको थियो ।
कोरोनाबाट भारतमा अहिलेसम्म चार सय ८० जनाको मृत्यु भइसकेको छ ।
