
पोखरा । विश्वभरि महामाहारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण गएको चैत्र ११ देखि नेपाल लकडाउन (बन्दाबन्दी) को अबस्थामा रहेको छ ।
देशका अधिकांश योजनाको काम ठप्प रहेको छ यद्यपी केही योजनाको काम भने सञ्चालनमा रहेको छ । गण्डकी प्रदेश सरकार मातहतमा रहेको मादी गाउँपालिकाको महत्वपुर्ण योजना मध्येको एक मादीनदी ज्याम्दु मोटरेवलपुलको काम लकडाउनमा पनि जारी रहेको छ । यसैविच गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला र प्रदेश सभा कास्की १(२) का सांसद मनबहादुर गुरुङ पुल निर्माणको प्रगति र मजदुरको अबस्था बुझ्न सो ठाउँमा पुगेका हुन्।
सभापति कोइरालाले लकडाउनको कारण मजदुहरुलाई केही समस्या भए आफुहरु सँग राख्न आग्रह गरेका छन्। मजदुरहरुले आफुहरुलाई खान बस्नको लागि कुनै समस्या नभएको बताएका थिए । कोइरालाले मास्कको प्रयोग गर्न चिकत्सकहरुले भनेझै सामाजिक दुरी कायम राख्दै काम गर्न सुझाब दिए । गत वर्ष ढिला काम हुँदा सटिङ गरीसकेको पुल बाढीले बगाएको स्मरण गर्दे कोइरालाले लकडाउनको अवधिमा सुरक्षा विधि अपनाएर भएपनि पुलको निर्माण कार्य जारी रहेकोले त्यस क्षेत्रका जनताले लामो समयदेखि देखेको सपना पुरा हुने चरणमा पुगेको बताए । पुल निर्माण यस आर्थिक बर्ष भित्रमा जसरी पनि सक्नुपर्ने भन्दै कोइरलाले निर्माण सामाग्री ल्याउन कुनै समस्या भए आफुहरुले पहल गर्ने निर्माण कम्पनीलाई बचन दिए । सोही क्षेत्रका प्रदेश सांसद मनबहादुर गुरुङले समयमै काम भएकोले यसपटक पुलबग्नबाट जोगिएको बताए । अस्ति आएको मादीको बाढीले पुलको ढलान अढाउन प्रयोग भएको केही सटिङ बगाएको देखाउँदै गुरुङले यसपटक केहि दिन छिटो काम हुँदा ठुलो क्षति हुनबाट जोगिएको बताए।
गुरुङले वर्षाको कारण धेरै नोक्सान हुने ठाउँमा स्थानीय सरकार प्रदेश सरकारले निर्माण कम्पनीहरुलाई काम गर्न अनुमति दिनुपर्ने बताए । निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवाका प्रतिनिधि चिरञ्जिवि पोखरेलले पुलको ढलानको काम सकिएकोले बिरगञ्ज र हेटौंडाबाट आउनुपर्ने सामाग्री ल्याउन सकियो भने जेठ महिना भित्र निर्माण सम्पन्न गर्ने बताउए ।अहिले दैनिक २२ जना मजदुरले काम गरिरहेको पोखरेलले जानकारी दिए।
मादी वडा नं. ७ र ३ जोड्ने उक्तपुल ८२.५ मिटर लामो हुने र प्रि स्टे«सड प्रविधिमा निर्माण हुने गण्डकी प्रदेशका पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुमन गिरीले बताउनु भयो । ८ करोड ६९ लाख ७ हजार ९ सय ८ रुपैयाँ ३७ पैसामा मृत सञ्जीवनी निर्माण सेवाले निर्माणको ठेक्का पाएको हो । पुल निर्माण सँगै मादी गाउँपालिकाको वडानं १, २, ३, ६,र ७ नम्बर वडाका स्थानीयहरुलाई आवतजावतमा सहज हुने मादीगाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले बताए । पुल निर्माण नहुदा ३ महिना सम्म त्यस क्षेत्रमा सवारी आवागमन ठप्प हुने गरेको थियो ।
